हेडलाईन

छथरको सुदापमा तरुण दल गठन नेकपा त्यात्दै कांग्रेसमा दर्जनौ युवाहरु प्रवेश ।         पौष ११ मा मुभी मेरो दिल छ पोखरामा         दुख पिरलाई भुलेर दशै मनाउ भन्दै गायिका रजनी लामा( भिडियो सहित)         गीतकार दिलिप योञ्जनद्धारा ३ बालबालिकालाई सहयोग प्रद्धान ।         गायक मचिन्द्र राईको आवाजमा”फुलको कुरा ”भिडियो सहित         गायक दुर्गा सेन्चुरीको आवाजमा ”दशैँ तिहारमा ” (भिडियो सहित )         गायक सिदार्थ परियार को आवाजमा ”शुन्य छ गाउँ” भिडियो सहित ।         गायक मिराज अर्यालको आवाजमा “ कस्तो दिन सानी “ भिडियो सहित ।         गायक सज्जन धामी को आवाजमा “माया लाउने हो” हेर्नुहोस भिडियो ।         गायक राजेश पायल राईको आवाजमा ”के छ तिम्रो नाउँ” भिडियो सहित ।         गायिका बन्दना मगरको आवाजमा ”लास बनेर” भिडियो सहित ।         गायिका मेनुका राईको आवाजमा ” भुटेको मकै ” (भिडियो सहित )         गायिका सुनिता थेगिम, श्रेया राई र सुजन आङदेम्बेको त्रिकोनात्मक स्वरमा ”साथी भिडियो सहित ।         अर्जुन दृष्टि गु्रप अफ इन्टरटेन्मेन्टको आयोजनामा सास्कृतिक कार्यक्रम आयोजना हुने ।         गायिका कविता खत्रीको आवाजमा “ गरिबको जुनी “ भिडियो सहित ।        

कार्यक्रमहरु

किराँतहरुको चाड ‘चासोक तङनाम’ संक्षिप्त परिचय ।

तेह्रथुम , १७ मंसिर ।
किरात वंशका एक शाखा लिम्बूजाति मौलिक सांस्कृतिक सम्पदाले सम्पन्न जाति हो। कृषिमा आधारित जीवनशैली अपनाई आएका लिम्बूजातिले ऋतु परिवर्तन सँगसँगै खेतीपातीलाई ध्यान दिई चाडपर्वहरू मनाउँदछन् । यसरी मनाई आएको चाडपर्वहरूमा यक्वा र चासोक मुख्य चाडहरूमा पर्दछन् । यक्वा पुजा उभौली याममा बीउ बिजन छरपोख गर्ने याममा सम्पन्न गरिन्छ भने चासोक (न्वागी) पुजा उधौली याममा बालीनाली भित्र्याउने याममा सम्पन्न गरिन्छ । माछा, चराचुरूङ्गीहरू उत्तरतिर लागेको र विशेष गरी आरूको फूल फूलेको ऋतुलाई उधौली याम (उत्तरायन) सुरू भएको तथा माछा, चराचरूङु्गी दक्षिणतिर लागेको र पैंयूको फूल फूलेको ऋतुलाई उधौली याम (दक्षिणायन) सुरू भएको संकेतका रूपमा लिम्बूहरूले लिने गर्दछन् । उभौली र उधौली याममा सम्पन्न गरिने यी दुवै कृषिकर्मसँग सम्बन्धित चाडहरूलाई लिम्बूहरूले समान महत्त्व दिई मनाउँदछन्, तथापि उधौली याममा आफ्नो परिश्रमको फल—विविध अन्नपातको उपलब्धता र उपयुक्त हावापानी हुने भएकोले लिम्बूजातिले चासोकलाई ‘चासोक तङनाम’ (न्वागीपूजा)को रूपमा भव्यताका साथ मनाउने गर्दछन् । लिम्बू भाषामा ‘चासोक’ को शाब्दिक अर्थ न्वागी हो र ‘तङनाम’ को अर्थ चाडपर्व भन्ने हुन्छ ।
किरात लिम्बूहरूको मुन्धुममा चासोक पूजाको उत्पत्तिका सम्वन्धमा सविस्तार वर्णन गरिएको पाइन्छ । मुन्धुमअनुसार कृषियुग सुरू हुनुुअघि लिम्बूहरूका आदिम पुर्खा सावा येत्हाङहरूले कन्दमूल काँचै खाएर जीवनयापन गर्दथे, जसले गर्दा उनीहरू कुपोषण र अनेक रोगव्याधीको शिकार हुन्थे । यस स्थितिबाट मुक्ति पाउन उनीहरूले सर्वशक्तिमान, निराकार, सर्वज्ञाता तागेरा निङवाफु माङको प्रार्थना गरे । प्रार्थनाको फलस्वरूप तागेरा निङवाफु माङ (भगवान)को कृपाबाट उनीहरूलाई पेनारमाङदःक् (कोदो), परामा (कोदोसँग नै उम्रने फल्ने), ताक्मारू (घैया), तुम्री (जुनेलो), साङ्घामा, लिङ्घामा र लङवामा आदि अन्नका बीउबिजन प्राप्त भयो । लिम्बूजातिको आदिम पुर्खा सावा येत्हाङहरूले यसरी अन्नको बीउबिजन पाएपछि तिनका चेली सिबेरा एःक्थुक्मा सिबेरा याबुङकेक्माले काठको खन्ती र अङ्कुसेको सहयोगले खोरिया फाँडेर भस्मेमा ती अन्नको बीउ छरी फलाइन् । त्यसपछि नै सावा येत्हाङहरूले खेतीपाती गर्न सिके तथा खेती गरेर फलाएको अन्न आगोमा पकाई खान थाले । पकाएको अन्नबाली खान थालेपछि सावा येत्हाङका सन्तानहरूले रोगव्याधीबाट छुटकारा पाई उनीहरूको जनसङ्ख्या बढ्न थाल्यो र डाँडाकाँडा ढाके । खेती गरेर अन्न फलाइकन खान सिकाउने आफ्ना चेलीको यो पूण्य कामदेखि खुशी भई सावा येत्हाङहरूले उनलाई आशिष र वरदानका रूपमा आफूले फलाएको अन्नपात चेली सिबेरा एःक्थुक्मा सिबेरा याबुङकेक्मालाई नाली कुजेन भनी चढाएपछि मात्र खान पाउने वाचाबन्धन पनि गरे । यसपछि नै लिम्बूजातिमा न्वागी पूजाको परम्पराको थालनी भएको लिम्बूजातिको मुन्धुममा वर्णन गरिन्छ ।
मनुष्यजातिलाई सर्वप्रथम खेतीपाती सिकाउने देवीका रूपमा सावा येत्हाङका चेली सिबेरा एःक्थुक्मा सिबेरा याबुङकेक्मा हुन् भनेर लिम्बूजातिले मान्दछन् । मानवको हित गर्ने उनको यस कार्यप्रति आभार व्यक्त गर्न चासोक पूजाको अवसरमा उनको पूजाअर्चना गर्ने र तागेरा निङ्वाफु माङसंगै सर्वप्रथम उनलाई पनि पाकेको अन्नको प्रसाद चढाउने गरिन्छ। यसरी प्राचीनकालदेखि नै लिम्बूजातिले आफूले खाने बस्तु आफूले खानुअघि मानी आएका देवीदेवतालाई चढाईकन मात्र ग्रहण गर्ने परम्परा रहिआएको हो । यसरी खेतीपातीको युगमा सावा येत्हाङ (मानववाति)ले प्रवेश गरेपछि नै विशेष महत्त्वका साथ अन्नपानी आºना इष्टदेवताहरूलाई चढाएर मात्र आफूले खाने परम्पराको थालनी भएको मुन्धुमबाट थाहा हुन्छ ।
अन्नबाली राम्रो हुनुमा, हावापानीले साथ दिनुमा, फलिफाप हुनुमा मानी आएको देवीदेवताको दयामाया र आशिर्वाद रहेको धार्मिक विश्वास लिम्बूजातिको रहेकाले नै आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाई खाएमा निम्नानुसारका रोगव्याधिले दुःख दिने विश्वास लिम्बू जातिमा छ, जस्तैः
१. धताउने÷बौलाउने,
२. रगत छदाउनेरहगाउने,
३. कुजे वा साँपे बनाउने
४. सोला हान्ने, जिउ सुकेर जाने,
५. गाँड निस्कने,
६. आँखा दुखाउने (अन्धा बनाउने),
७. कान दुखाउने (बहिरा बनाउने) ।
चासोकस् पूजिने देवी देवताहरू र विधिविधान
देवीदेवताहरू प्रसन्न हउन् र अन्नवाली सप्प्रोस्, रोगव्याधी नलागोस्, दीर्घायु, सुखसमृद्धि आवोस् भन्ने कामनाकासाथ न्वाँगी पूजा आज पनि लिम्बू जातिले सम्पन्न गर्दै आएका छन् । यसरी पूजा सम्पन्न गरिंदा सर्वप्रथम कुदाप साम्माङ अर्थात कुइकुदाप वा ताम्भुङ्नाको पूजा घरबाहिर सम्पन्न गरेपछि घरभित्रका देवीदेवताको अर्थात् युमा, थेबा र हिम साम्माङहरूको पूजा गरिन्छ । पूजा गर्ने क्रम भने मिसेक, थुङ्दाङ्बा, युमा, थेबा र हिम साम्माङ गरेर क्रमशः गरिन्छ । चासोकमा पुजिने देवीदेवताहरू र पूजाको विधिविधानलाई यहाँ विस्तारपूर्वक प्रस्तुत गर्नु सान्दर्भिक हुनाले दुई खण्डमा (क) चासोक पूजामा पूजिने देवी देवताहरू तथा (ख) किरात चाडः चासोक तङनाम चासोक पूजाको विधिविधान प्रस्तुत गरिन्छ ।
(क) चासोक पूजामा पूजिने देवी देवताहरू
(१) कुइकुदाप वा ताप्फेङ्
चासोक पूजामा मुख्यतः यूमा, थेबा तथा थुङदाङबा देवी र देवताका पूजा गरिने भए तापनि पूजाप्रर्थनामा विध्नबाधा नहोस्, प्रार्थना गरेअनुरूप फल प्राप्त होस् भनेर अन्य अनिष्टकारी जङ्गली देवीदेवताको पनि पूजाआजा गरिन्छ । तिनमा मुख्यतः कुदापरकुइकुदाप वा ताप्फेङ् वा ताम्भुङ्नाजस्ता शिकारी वनदेवता र वनदेवीहरूले पूजामा र गृहस्थी जीवनमा समेत विध्नवाधा नदिउन् भनी मनाइने (मन्साउने) काम गरिन्छ । मुख्य शिकारी वनदेवता र वनदेवीहरू निम्नानुसार छन्, जस्तैः
(क) तक्सङ्बा– विध्नवाधानाशक रिसाउंदा अनिष्ट गर्नसक्ने लेकमा निवास गर्ने शिकारी देवता ।
(ख) सिरिङ्मा वा मुदेनहाङमा (साया मुदेन–किरात लिम्बूहरूको रक्षा गर्ने उत्तरबाट याक्थुङलाजे प्रवेश गरेकी वा उच्च पहाडी र पर्वतीय क्षेत्रमा निवास गर्ने वनदेवी ।
(ग) तेन्छामा– दक्षिणबाट याक्थुङलाजे प्रवेश गरेकी देवी वा निम्न औल र खोंच क्षेत्रमा निवास गर्ने वनदेवी ।
(घ) खञ्जमा वा खजमा– कहिले उत्तर कहिले दक्षिणतिर घुमी हिँड्ने वनदेवी ।
(ङ) वागङ्मा÷वाजमा– विजुवा, येवा, येमा आदि तान्त्रिकहरूले गुरू मानी उनीहरूमा शक्ति प्राप्त गर्ने तथा जलमा निवास गर्ने वनदेवी ।
(२) मिसेक रिसाउँदा पूजाआजामा विध्नबाधा दिने, मानिसलाई अघोर पिर्नसक्ने शिकारी देवता हुनाले सम्पन्न गरिन लागेको पूजा विध्नबाधारहित सम्पन्न होस् भनेर सर्वप्रथम मिसेकको पूजा गरिन्छ ।
(३) थुङ्दाङबा अन्नबाली उत्पादनमा उचित समयमा घाम र पानी दिएर बालीनाली राम्रो बनाइदिने, असल उब्जनी गराइदिने, राखनधारन, खानपिन, कलाकौशल समेत सिकाउने चासोक थिसोक तङनाममा अनिवार्य रूपमा पूजिने इष्टदेवता । खस भाषामा यस देवतालाई सूर्यदेवता भनेर पनि सम्बोधन गरिन्छ ।
(४) युमा साम्माङ तागेरा निङवाफु माङले मातृशक्तिको रूपमा प्रकट भएको लिम्बूहरूको सर्वोपरी इष्टदेवीलाई यूमा साम्माङ भनिन्छ । महत्त्वको होस् वा सानो अर्थात संक्षिप्तमा सम्पन्न गरिने पूजाआजा होस्, सबैमा युमाको आराधना र पूजा नगरी फल प्राप्ति हुँदैन भन्ने लिम्बूहरूको जनविश्वास छ ।
(५) काशीहाङ्मा यूमा साम्माङसँग साथ लागी आएकी उनको सहयोगी देवी अर्थात उनकै अर्को चरित्र अवतार हो काशीहाङ्मा । यिनको थान युमाको थानसँगै एकै ठाउँमा बनाइन्छ ।
(६) थेबा साम्माङ
तागेरा निङवाफु माङ्ले पितृशक्तिको रूपमा प्रकट भएको लिम्बूहरूको आदि पुरूष देवता अर्थात बाजे देवता । बल र शौर्य प्राप्तिका लागि, शत्रूदमन र विजय प्राप्तिका लागि अथवा अन्नपात, धनदौलत र समृद्धिका साथ सुस्वास्थ्य, दीर्घायु र सन्तान प्राप्तिका लागि गरिने कुनै महत्त्व वा संक्षिप्तमा सम्पन्न गरिने पूजाआजा होस्, सबैमा थेबाको आराधना र पूजा नगरी फल प्राप्ति हुँदैन भन्ने लिम्बूहरूको जनविश्वास छ ।
(७) काप्पोबा
हिम्साम्माङ घरको रक्षा गर्ने बूढा देवता ।
(८) फाक्मुरा
यो देवतालाई हिम साम्माङको सहयोगी अथवा अवतार चरित्र मानिन्छ । हिम साम्माङ र फाक्मुराको थान एकै ठाउँमा बनाइन्छ ।
(९) चखोबा
कहीँ कसैकसैले चखोबा नामक देवताको पनि पूजा गरेको पाइन्छ । यो नयाँ देवता हो, र यसको थान लहरको अन्तमा बनाइन्छ ।
(ख) चासोक पूजाको विधिविधान
अन्नवाली मकै, कोदो वा धान पाके पछि चासोक पूजा गरिन्छ । खेतीबारी धेरै टाढा भए अन्नका बाला घरमै ल्याई पूजा गरिन्छ भने नजिकै खेतबारी भएमा त्यतै गई भुइँ सम्याई सफासुग्घर बनाई थानको निर्माण गरी पूजा गरिन्छ । अन्नका बाला घरमै ल्याई वा खेतबारीमा गई चासोक पूजा गर्दा पनि घरभित्रका देवीदेवताको घरभित्र र घरबाहिरका देवी देवताको घरबाहिर नै पूजा अर्चना गरिन्छ । तर दिउँसो नै चासोकको पूजा सम्पन्न गरिने हुँदा प्रायसः युमा, थेबा, हिम साम्मङको पूजा पनि घरबाहिर खेतबारीमा गर्ने गरेको पनि पाइन्छ ।
(१) नयाँ अन्न मकै, कोदो वा धान आदि पाकेपछि घरको मूली आइमाईले चोखोनितो गरी हतियारले नकाटी हातैले चुँडाएर मकै, कोदो वा धानको बाला ल्याउँछन् । धानको बालाबाट नङ्ले छोडाएर अक्षताको लागि चामल बनाइन्छ । हातैले धान माडेर झारेपछि हाँडीमा भुटेर देवतालाई चढाउंने चिउरा बनाइन्छ । पकाएको भात चढाउँदा भने चोखो चामल भाँडामा हालेर कुनै पात्रले नछोपी तथा कुनै वस्तु (पन्यू) आदिले नचलाइकन पकाएको मात्र चढाउनु पर्दछ ।
(२) कोदोको बालालाई हातले माडेर गेडा निकालिन्छ । कोदोको गेडामा मर्चा र पानी मिसाएर पूजाको लागि जाँड साप्तोक बनाइन्छ ।
(३) बांसको वा बाँस नपाएमा केराको पातको बीचको डाँठलाई तल्लोपट्टी भूईमा गाड्न हुने पारी चुच्चो वा छड्के काटेर माथिल्लो भागलाई मुठारेकोे ५ – ६ इञ्च लामो बनाई त्यसभित्र साप्तोक हाली थिः तोङबा बनाइन्छ । तोङ्बा बनाउने वस्तुबाटै सिन्का बनाई पित्छिङ (पिपा) तोङ्बामा हाल्ने र तोङबालाई केराको पातले छोपी पित्छिङले छेंडेपछि पूजाको लागि तोङबा तयार हुन्छ । तर प्रायसः ठूलो पूजा नगरेर संक्षिप्तमा गरिने पूजामा त मुख छड्के काटेको तोङ्बा अर्थात पेहेङ नै चलाइन्छ ।
(४) डबकामा वा बटुकोमा वा त्यस्तै पात्रमा वादुम्पकवा (चोखो पानी) हाली वासाङना वा लाइकइक्सो (केराको पातलाई बेह्रेर बनाएको पानी छर्कने वस्तु) तयार गरिन्छ ।
(५) विभिन्न प्रकारका पाकेका फलफूल, सुकेको तीतेपाती र धुपीको धुप, भेटी, च्यूरा, अक्षता तयार गरिन्छ ।
(६) पूजा गरिने घरपरिवारको घरमूली स्त्रीको (हिजोआजभने सकेसम्म सबै सदस्यहरूको) कमरभन्दा माथि प्रयोग गरिने चोखो कपडाहरू तिनको प्रतीकको रूपमा राखिन्छ । यसलाई लिम्बूभाषामा मैनाम वा येबो भनिन्छ । ती वस्त्रहरू पूजा गर्दा लास्सो पिच्छे क्रमसः अगाडीपट्टी राखी पूजा सेवा गर्ने र आशिर्वाद माग्ने काम गरिन्छ ।
(७) घरवाहिर चासोक पूजा गर्नुपर्ने अवस्था भएमा जमिन सम्याउने र त्यसरी सम्याइएको जमीनमाथि पूजा गरिने विभिन्न देवीदेवताहरूको लागि सुल्टो पारी केराको पात दुईसरो तोकेको किसिमले ओछ्याई पूजाको थान÷लास्सो बनाइन्छ । पूजाको थान बनाउने तरिका भने कहींकहीं फरक पनि हुन्छ ।
(८) युमा साम्माङ र थेबा साम्माङको थानमा भने माथि उल्लेखित सामग्रीहरूका अतिरिक्त थालमाथि फुङसारी (कलश) र दियो जलाई पूजा गर्ने पनि गरेको पाइन्छ । घरभित्र लास्सो वा थान थापना गर्दा भूईंलाई चोखोनितो गरी रातो माटोले लिपेर थान बनाइन्छ ।
चासोक पूजाका लागि आवश्यक सामग्रीहरूमध्ये बाहिर पुजिने देवीदेवताहरूको लागि खनी सम्याइएको जमीनमाथि प्रत्येक देवीदेवताको लागि लास्सो अगाडी १÷१ जोर पेहेङ (तोङबा) ठड्याइन्छ । लास्सोमा नयाँ धानको च्युरा र अक्षता, फलफूल, धूप, नैवेध राखी वादुम पक्वाले फिम्मा (चोखो पानीले छर्केर) गरेर मुन्धुम वाचन गर्दै पूजा सम्पन्न गरिन्छ। पूजा सुरू गर्नुअघि तीतेपातीको धूप ढुङ्गामाथि राखेको बलेको कोइलामा जलाइन्छ । पूजा सकिएपछि लास्सोअघि राखिएको पेहेङ (तोङ्बा)को जाँड पित्छिङ (पिपा)ले लास्सोमा छर्केर वा चढाएर तोङ्बाहरू लडाइ लास्सोलाई सेलाइन्छ । सामान्यतः चासोक पूजा फेदाङमाले मुन्धुम वाचन गर्दै आवश्यक विधिविधानअनुसार सम्पन्न गर्दछन् । न्वागीको पूजा प्रायसः साँझपख सुरू गरिन्छ । बाहिर या घरबाहिरका देवीदेवताको पूजा गरेर वा तिनलाई मन्साउने काम सकेर गर्नुपर्ने भएकाले समय निकै लाग्ने हुँदा यसो भएको पनि हुन सक्छ । तर कतिपय अवस्थामा फेदाङ्माले यिनको पूजा दिनमा नै पनि गरेको कुरा माथि नै पनि उल्लेख भइसकेको छ । घरभित्रका इष्टदेवताहरूको पूजा अर्चना सकेपछि फेदाङमाले नयाँ पाकेको अन्नको च्यूरा र अक्षताका साथ अन्य चढाइने चीजबीजहरू बलिरहेको चुल्होमा चढाउँछन् । त्यसपछि खेतीपातीमा सहयोगी हातहतियार, जस्तैः हलोजुवा, कुट्टे कोदालो, खुकुरी र खुर्पा, बन्चरो, घरका ढिकी र जाँतोलाई पनि सो प्रसाद चढाउँछन् । अन्त्यमा, फेदाङमाले घरपरिवारका प्रत्येक सदस्यहरूलाई आ–आफ्नो येबो (मैनाम) आशिर्वादका साथ फिर्ता दिने काम हुन्छ । सम्पूर्ण लिम्बूहरूले चासोकमा पुजी आएको देवीदेवताहरूमा कुनैप्रकारको फरक पाइंदैन । दश लिम्बुवान सत्र थुममा बसोबास गर्ने लिम्बूहरूमा भाषिकागत तथा भौगोलिक क्षेत्रगत कारणले गर्दा कतिपय देवीदेवताहरूको नामाकरण, संख्या र पूजा गरिने तौरतरिकामा भने केही भिन्नता रहेको पाइन्छ । तर चासोकको मौलिक तत्वहरूमा भने फरक छैन ।
चासोक चाडको सामाजिक महत्व
फेदाङमाको अभाव र सम्बधित घरपरिवारको अनुकूलतालाई ध्यानमा राखेर चासोक पूजा गाउँघरमा फरक फरक समयमा गर्ने गरेको पाइन्छ । तर चासोक–पूजाको विधि, तरिका र मुन्धुममा दखल राख्ने तुम्याङहाङहरूले पनि यो पूजा सम्पन्न गर्न सक्दछन् । हिजोआज भने सामूहिक रूपमा सार्वजनिक स्थान वा माङहिमहरूमा सबै भेला भई मंसिरे शुक्लपक्षको त्रयोदशीका दिनदेखि चासोक तङनाम सुरू गरी मंसिरे पूर्णेसम्म ३ दिनसम्म भव्यताका साथ सम्पन्न गर्ने प्रचलन बढेर गएको छ । लिम्बूहरूको जातीय संस्था किरात याक्थुङ चुम्लुङको पहल र सक्रीयतामा सामुहिक रूपमा भेला हुन नसक्ने सबै लिम्बू घरपरिवारले पनि सकेसम्म चासोक तङनाम (मंसिरे शुक्लपक्षको त्रयोदशीदेखि पूर्णेसम्म) को अवधिभित्र नै पारेर फेदाङमा वा तृुम्याङहाङहरूका सहयोगले चासोक पूजा सम्पन्न गर्न थालेका छन् । यसरी चासोक चाड सामुहिक चाडको रूपमा स्थापित हुन थालेकोले यसको सामाजिक महत्त्व बढेको छ । चासोक तङनामको अवसरमा भेटघाट मनोरन्जन आदि सामुहिक क्रियाकलापहरू हुन्छन् । यस चाडले लिम्बूजातिभित्र सामाजिक सद्भावको अभिवृद्धि गर्न र सामाजिक सम्बन्ध सुमधुर बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न थालेको छ ।
आदिवासी लिम्बूहरूले किरात चाडका रूपमा चासोक तङनामलाई मंसीरे शुक्लपक्षको त्रयोदशिदेखि मंसीरे पूर्णेसम्म ३ दिन विभिन्न सामाजिक महत्त्वका क्रियाकलापहरूसहित सम्पन्न गर्न थालेकाले यस चाडको महत्त्व झनै बढेको छ । यस चाडका अवसरमा लिम्बूजातिभित्र निम्न सामाजिक र सांस्कृतिक गतिविधिहरू हुने गर्दछ, जस्तै—
(१) रिसराग, ईष्र्या आदिलाई बिर्सेर चासोक तङनाममा आत्मीयताका साथ लिम्बू दाजुभाई दिदीबहिनीहरूले भेटघाट र शुभकामना आदान प्रदान गर्छन् ,
(२) घरघरमा मीठो मसिनो विभिन्न प्रकारका खानपिन बनाई खाने गर्छन,
(३) पाहुनाहरूको आदानप्रदान र सेवा सत्कार हुन्छ,
(४) नवविवाहित जोडी र चेलीबेटीहरू हुक्वा (आफ्नै हातले बनाएको सोबित) र अन्य प्रकारको चेसुङ (कोसेली)का साथ चासोक तङनामको अवशरमा ससुराली वा माईती घर आउने र जाने गर्द्छन्,
(५) युवाहरू सार्वजनिक स्थानमा भेला भई लिम्बूहरूको परम्परागत जातीय खेल पक्लुङ लेप्मा (कजयत उगत) खेल खेल्दछन् भने युवा, प्रौढ, वृद्धवृद्धाहरू केलाङ, यालाङ नाची साम्लो, हाक्पारे आदि गीत गाएर मनोरन्जन गर्दछन् । केटाकेटीहरू पनि विभिन्न खेलहरू खेली रमाइलो मनाउँछन ।
(६) साम्बा, येवा÷येमाहरूको उपलब्धताअनुसार एकराते तङसिङ पनि यस अवसरमा सम्पन्न गर्ने चलन बढ्न थालेको छ । तङसिङमा लिम्बू जातिको सृष्टि तथा अन्य मानव सभ्यताको विकास र सभ्यताको वर्णन मुन्धुमअनुसार साम्बा, येवा÷येमाहरूले मुन्धुम गाएर सम्पन्न गर्ने भएकोले यस अनुष्ठान आफूहरूले मानी आएको प्रमुख चाडमा समावेश गर्दा चासोक तङनामको महत्त्व बढ्न गई बढी प्रभावकारी हुन थालेको देखिएको छ ।
(७) वर्ष्दिन काम गर्दा, बोल्दा कसैलाई चोट पुगी गाली गर्ने, सराप्ने आदि भएगरेका गालीसराप नलागोस् भनी गालीसराप बगाउने लिम्बू जातिका प्राचीनकालदेखिको परम्परा हो । लिम्बू भाषामा यसलाई माङहुप् वादेम्मा भनिन्छ । यो अनुष्ठान गर्दा गाली सराप बग्छ भन्ने लिम्बू जातिको विश्वास छ । साम्बा, येवारयेमाहरूको उपलब्धताअनुसार एकराते तङसिङ गर्ने प्रचलन बढ्दै गएको सन्दर्भमा अन्य समयमा गरिने भए तापनि चासोक तङनामको अवसर पारेर सामुहिक रूपमा माङहुप् वादेम्माको अनुष्ठान गर्ने प्रचलनले अझै गति लिंदैछ ।
चासोक तङनामले सांस्कृतिक र सामाजिक महत्त्वका साथसाथै धार्मिक महत्त्व पनि बोकेकोले गर्दा लिम्बू जनजीवनमा यसको महत्त्वपूर्ण र अविच्छिन्न सम्बन्ध रहिआएको छ । यस चाडले लिम्बूजातिको पहिचान र सांस्कृतिक गौरव बढाउने काम एकातिर गरेको छ भने अर्को्तिर यसले लिम्बू जातिबीच सामाजिक सद्भाव, एकता र पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्नमा ठूलो भूमिका निर्वाह गरेको छ ।
स्रोतः किरात चाडः चासुवा, फोलष्याँदर, चासोक तङनाम र उधौली साकेला एक परिचय – वि.सं. २०५९ (२००२), पेज १५ – २३
साभारः अमुर तुम्याहाङको फेसबुक वाल बाट






  • छथरको सुदापमा तरुण दल गठन नेकपा त्यात्दै कांग्रेसमा दर्जनौ युवाहरु प्रवेश ।
  • अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)
  • प्रमोदसंग कपाल मिल्दा चर्चा कमाएका बलबहादुर भ्वाइसको नकआउट राउन्डमा प्रवेश
  • पौष ११ मा मुभी मेरो दिल छ पोखरामा
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

    पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

    कञ्चनजंघा अनलाईन / October 14, 2019

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution