आज: २८ असार २०७७, आईतवार | Sun, 12, Jul, 2020
FLASH NEWS

मिङ्वा लिम्बू मृत्यु प्रकरण प्रहरीको भूमिका शंकास्पद !

कञ्चनजंघा अनलाईन १५ बैशाख २०७४, शुक्रबार ०१:४४ मा प्रकाशित ( ३ साल अघि) ९३ पाठक संख्या

उर्लाबारी-१५ वैशाख
उर्लाबारी–७ स्थित पशुपति बोर्डिङ स्कूलमा अध्ययनरत एक बालिकाको गत आइतबार रहस्यमय मृत्यु भएको खुल्न आएको छ । स्थानीय बरगाछीस्थित ठूलोबुवाको घरमा आश्रय लिएर बस्दै आएकी ९ वर्षीया मिङ्वा लिम्बूको रहस्यमय मृत्यु भएको हो । घटना विवरणअनुसार आइतबार दिउँसो १ बजे सोही घरमा रहेको बेला उनलाई टिभीको रिमोर्टले प्रहार गरी मरणासन्न बनाइएको स्थानीयको आरोप छ । सोही कारण उनको मृत्यु भएको भन्ने घटनाले उर्लाबारीमा योबेला सनसनी मच्चिएको छ । यद्यपि, मृतक बालिकालाई संरक्षण दिँदै आएका आफन्तले भने मिङ्वाले झुण्डिएर आत्महत्या गरेको दावी गरेका छन् । ९ वर्षीया बालिकाले आत्महत्या गर्नुपर्ने कुनै कारण नरहेको घटना प्रकृतिबाट बुझिने स्थानीयको भनाइ छ । झुलको डण्डीमा सलको पासो लगाइ बालिका झुण्डी मरेको भन्ने आफन्तको जिकिर नै शंकास्पद देखिन्छ । इलाका प्रहरी कार्यालय उर्लाबारी भने यो समाचार तयार पार्दासम्म घटनाप्रति बेखबरझैं रहेको छ ।

घटना भए लगत्तै संरक्षण दिने बालिकाका ठूलोबुबा उर्लाबारी–७ का वीरबहादुर चोङवाङले अचेत अवस्थामा रहेकी बालिकालाई स्थानीय अरनिको अस्पतालमा पुर्याएका थिए । अस्पतालले बालिकालाई मृत घोषणा गरेपछि उनको शव सद्गद् गर्ने भन्दै वीरबहादुरले घरमै ल्याएका थिए । उता, ताप्लेजुङ मैवाखोला गाउँपालिकास्थित घरमा रहँदै आएका मृतकका बुबा छत्रध्वज चोङवाङले आफ्नी छोरीको मृत्यु घटना छानविन गरी पाउँ भनी इलाका प्रहरी कार्यालय उर्लाबारीमा जाहेरी दिएपछि भने घटनाले नयाँ मोड लिएको हो ।

बालिकाको शवलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम गरी दाहसंस्कार गरिएको छ । उर्लाबारी प्रहरीले भने अनुसन्धान भइरहेको बताएपनि घटना विवरण के भएको भन्ने गुपचुप नै राखेको छ । प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले भने– ‘पोष्टमार्टम रिपोर्ट नआइ यसै भन्न सकिने अवस्था छैन ।’ बालिकाका ठूलोबुवा वीरबहादुर चोङवाङले भने बालिका छटपटिएपछि मात्र आफूलाई थाहा भएको जानकारी दिएका छन् ।

बालिकाको आत्महत्याका विषयमा जानकारी लिँदा बाल विशेषज्ञका रूपमा पूर्वमै कहलिएका चिकित्सक डा. लिलासुन्दर श्रेष्ठले भने बच्चाले झुण्डीएर आत्महत्या गर्नु विरलै हुने घटना मध्येमा पर्ने बताए । उनले यस्तो घटना आफूलाई अहिलेसम्म जानकारीमा नआएको जनाए । यसैबीच, मोरङका प्रहरी प्रमुख एसपी सन्दिप भण्डारीले मातहतका प्रहरीलाई घटनाको सत्यतथ्य पत्ता लगाएर सार्वजनिक गर्न निर्देशन दिइसकेको बताए ।