आज: ४ कार्तिक २०७७, मंगलवार | Tue, 20, Oct, 2020
FLASH NEWS

यसरी बनाउन सकिन्छ जाडोमा उपयुक्त खसीको खुट्टाको सुप

कञ्चनजंघा अनलाईन ५ पुष २०७४, बुधबार ०१:३८ मा प्रकाशित ( २ साल अघि) १०३ पाठक संख्या

काठमाडौँ । चिसो फाल्न खसीको खुट्टाको सुप निकै उपयोगी हुन्छ । अधिकांशले यो परिकार मन पनि पराउँछन् । घर–घरमा पाक्ने खसीको खुट्टाको सुप आ–आफ्नै तरिकाले पकाएर खाने गरिन्छ । तर, मिठो र स्वादिलो बनाएर खाने हो भने यसको पनि पकाउने बेग्लै तरिका छ । तरिका सजिलो पनि छ । सेफ शम्भु कार्कीले पकाउने तरिकाबारे जानकारी दिएका छन् :

सामग्री/प्रतिव्यक्ति
-पिस पारेको एउटा खसीको खुट्टा
-थिचेको अदुवा २० ग्राम
-थिचेको लसुन ३० ग्राम
-थिचेको हरियो खुर्सानी दुई पिस
-छाटा मुगी १०० ग्राम
-नुन स्वादअनुसार
-एक चिम्टी ज्वानो
-ठूलो एक चम्चा बटर
-पानी एक बाउल
-खसीको खुट्टाको सुप चिसोमा निकै रुचाइने रेसिपी हो । यसलाई त्यत्तिकै खाने चलन छ । आफ्नै घरमा सजिलै बनाउन सकिने यो परिकार बुढाबुढी तथा बिरामीका लागि पनि उपयोगी हुन्छ । भातसँग पनि खान सकिन्छ । नयाँ पत्रिकाले छापेको छ ।

बनाउने विधि
-आगोमा कुकर बसाल्नुहोस् र बटर राख्नुहोस् ।
-बटर हल्का तातेपछि ज्वानो पड्काउनुहोस् ।
-खसीको खुट्टा राख्नुहोस् । भुट्न नछोड्नुहोस् ।
-थिचेर तयार पारेको लसुन, अदुवा र खुर्सानी पनि हाल्नुहोस् र भुट्नुहोस् ।
-तत्कालै मुगीको दाल पनि राखेर सँगै भुट्नुहोस् ।
-दुई–तीन मिनेट भुटेपछि एक बाउल पानी राख्नुहोस् ।
-स्वादअनुसार नुन राखिदिनुहोस् । यसमा अन्य मसला जा“दैन ।
-अब कुकरको बिर्को बन्द गरेर तीन–चार सिट्ठी लगाइदिनुहोस् ।
-आगो बन्द गरेपछि एकछिनसम्म रहन दिनुहोस् ।
-अब कुकरबाट निकालेर खसीको खुट्टाको सुप खानका लागि तयार भयो ।