आज: १३ कार्तिक २०७७, बिहीबार | Thu, 29, Oct, 2020
FLASH NEWS

लिम्बू खजुमहरुको माङ्गेन्ना यक: संरक्षणमा युवाहरु जुट्दै

कञ्चनजंघा अनलाईन १२ जेष्ठ २०७७, सोमबार ०७:२८ मा प्रकाशित ( ५ महिना अघि) १०३६ पाठक संख्या

प्रकाश पाक्साँवा
तेह्रथुम । छथर गाउँपालिकाका खजुम लिम्बुहरुले आफ्नो गढी संरक्षणमा चासो दिएका छन् । उनीहरुले वडा नं. ३ मा रहेको योमुई चाम्खासिङ यक अर्थात गढीको संरक्षण सुरु भएको हो । विभिन्न मुलुकमा काम र पढाईको सिलसिलामा पुगेकाहरुको सहयोगमा स्थानीय युवाले गढीको संरक्षण गरिरहेका छन् ।

 

पुर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बु जातिहरुको आफ्नै कला, सस्कार संस्कति छ । लिम्बु समुदायमा पनि समुदाय अनुसार आ–आफ्नै माङगेना यक (गढी) हरु छन् । नेपाल एकिकरण हुनु अघि यहाँका लिम्बुले आ–आफ्नै गढमा सैन्य शक्ति राखेर परिचालन गर्ने गरेका थिए ।सुरक्षित तथा दुष्मनहरुले आक्रमण गर्न नसक्ने स्थानहरुमा गढ बनाएर यहाँका लिम्बुहरुले राज्य संञ्चालन गर्दै आएका थिए । ती ऐतिहासिक गढहरु संरक्षण हुन नसक्दा जंगलको डाँडा बनमा सिमीत हुँदै गर्दा खजुम लिम्बुहरुले भने आफ्नो गढी संरक्षणमा चासो दिएका हुन् ।
बिभीन्न देशबाट रकम संकलन गरी गढी संरक्षणको काम भई रहेको गढी संरक्षण समितिका अध्यक्ष चिनकुमार कुरुम्भङले बताए । माङगेना यक (गढी) अर्थात शिर उठाउने स्थानको रुपमा गढीलाई लिम्बु समुदायले लिँदै आएका छन् । खजुमहाङले राज्य गरी रहँदा गढ बनाएको ऐतिहासिक स्थललाई संरक्षणमा युवाहरुको चासो बढ्न थालेको छ । पुर्खाहरुले शैन्य शक्तीलाई राखे जस्तै ऐतिहाँसिकतालाई संरक्षण गरी निमार्ण गरिने भएको अध्यक्ष कुरुम्भङको भनाई छ ।

 

सिमेन्ट रड तथा कृतिम सामाग्री प्रयोग नगरी प्राकृतिक ढुङगै ढुङगा मात्र प्रयोग गरी गढीलाई निमार्ण गरिने भएको छ । पर्यटकहरुलाई आकर्षण गर्ने खालका संरचनाहरु निमार्ण गरी गढी सरक्षणका लागी बिश्वमा रहेको खजुम लिम्बुहरु एक भएर निमार्ण कार्यमा लाग्नु पर्ने रेवत पारघरीले बताए ।
करिब १ करोड लागतमा गढी संरक्षण तथा निमार्णको काम हुने भएको छ । आगामी ५ बर्षमा संरक्षण तथा निमार्णको काम सम्पन्न गराउने समितीको लक्ष्य रहेको जनाएको छ । कुरुम्भङ, लेक्वा, पारघरी, चोङबाङ, वायाङ खजुम र इमेहाङ गरी खजुम लिम्बुहरु ६ थरी छन् । ऐतिहाँसिक स्थलहरुलाई संरक्षणका लागी सरकारकै भर पर्नुले बर्षौ देखी यी र यस्ता पुरातात्विक सम्पदाहरु लोप हुँदै आएका छन् ।