आज: २८ श्रावण २०७७, बुधबार | Wed, 12, Aug, 2020
FLASH NEWS

लिम्बू मुन्धुममा माफाराको छाला सुकुवा डाँडा

कञ्चनजंघा अनलाईन २२ जेष्ठ २०७७, बिहीबार १०:१३ मा प्रकाशित ( २ महिना अघि) ८४४ पाठक संख्या

विरही काइँला(अमेरिका)
अविरल बगिरहेछ निभुखोला । मास्तिर थोकुवाको पटेर जङगल । त्यहि जङ्गल बीच एउटा ढूलो ढुङ्गालाई टाढैबाट देखिन्छ । ढुङ्गामा छ दुईवटा ठूला खोपिल्टो । खोपिल्टोमा टम्म भरिएको पानी । यो बाह्रैमास सुक्दैन । बन्य जीव जन्तुहरूको पानी खानेठाउँ ।
धेरैवर्ष अघिको कुरा हो । यो ढुङगाको खोपिल्टोमा एउटा घटना घट्यो । शिकार खेल्न गएकामाइती फाक्सारा फर्केर नआएपछिआफ्ना माइतीलाई खोज्दै हिडेकी सिमसारा नाम गरेकी एउटी युवती यस ठाउँमा आइपुगिन । चैत वैशाख तिरको उखर्माउलो गर्मीको याम । तिर्खाले ब्याकुल भएकी सिमसाराले ढुङ्गाको खोपिल्टोको पानी धीत मेटिन्जेल पिइन । दुवै खोपिल्टोको पानी रित्याइन अनि लामो सास तानेर ढुङ्गामाथि थकाइ मार्न बसिन।

 

सिमसाराले पानी ठानेर पिएकी एउटा खोपिल्टोमा बाघ अनि अर्को खोपिल्टोमा मान्छेको मूत्र थियो । सिमसारा आइपुग्न अघि एउटा खोपिल्टोको पानी बाघले खाएर त्यैमा पिसाब गरेको थियो । बाघको पिछा गर्दै हिडेका शिकारी मान्छेले अर्को खोपिल्टोको पानी पिएर त्यसैमा पिसाब फेरेर गएको थियो ।
ढुङ्गोको खोपिल्टोहरूमा के तत्व थियो कुन्नि? मूत्रसँग वीर्यक्षरण भएको सुक्राणुहरू जीवित थिए । ती स्क्राणुहरूले सिमसाराको गर्भमा ठाउँ पाए ।
सिमसारा थाकेकी थिइन । ढुङ्गामा शरीर विसाइन । जसरी पानीले प्यास बुझाइन,त्यसरी नै हावाबाट शरीरका थकान मेटाउन चाहिन। हावा सिरिरी चल्न थाल्यो । हावाको गतिसँगै आँखा बन्द गरेकी सिमसारा भुसुक्क निदाइन ।
माफारा डाँडामा छ घाम। त्यो पनि उड्दै गरेको एकटुक्रा वादलभित्र हराउँछ । दिन ढल्छ रात पर्छ । सिमसारालाई निन्द्राले छाडेको छैन । मस्त सँग निदाइकी छे ढुङ्गा माथि ।

 

आकाशमा मेन्छ्याफुत्लुम ताराहरू देखिए । विस्तारै पृथ्वीमा उज्यालो छरिए । जङ्गलका लुइचे चराहरू खुशी भएर बास्न थाले । ढुङगा माथि सुति रहेकी सिमसाराले आँखा खोलिन । बल्ल थाहा पाइन दिउँसो आएर यहाँ पानी पिएको कुरा । तर पनि सिमसारालाई उठ्न मन लागेन ।
माफारा डाँडामा घाम झुल्कियो । चराहरूयता उता उड्न लागे । तल निभुखोला बगेको मधुरो आवाज कहिले काहीँ कानमा गुन्जिनु आइ पुग्थ्यो । सिमसारा उठेर टुक्रुक्क बसिन । अघिल्तिरको खोपिल्टो हेरेर वाक्क वाक्क गर्न थालिन । ढुङ्गोबाट ओर्लिन र औलाले माटो कोट्याएर चाखिन ।अमिलो,टर्रो, पिरो खोज्दै उकालो लागिन । सिमसाराको घर माफारा डाँडा पूर्वपट्टीको गाउँमा थियो । आजसम्म गाउँलाई सिमसारा नामले चिनिन्छ । यिनी सानी छदा आमा-बाबू मरेकाले घरमा कोइ थिएन ।
सिमसारा हेलाङ भन्ने ठाउँमा बस्न थालिन । त्यहिँ कन्दमुल पोलेर कहिले उसिनेर खाइन । जङगलभरि लट्टरम फलेका फलहरू टिपेर स्वाद चाखिन। सिस्नुको दाउनले छाक टारिन ।
सिमसाराले गर्भ धारण गरेको नौ महिना पुग्यो । कुनै पुरषसँग शारीरिक सम्पर्क नराखीजुम्ल्याहा सन्तानका आमा बनिन । यिनको कोखबाट बाघपुत्र र मानवपुत्र जन्मिए। सिमसाराले बाघपुत्रलाई केसामी र मानवपुत्रलाई नामसामी भनी बोलाइन । दुवैले एकै आमाको दूध पिएर बढे । तर जति ठूला भए एकले अर्कोलाई मन पराउन छाडे ।
आमा सिमसाराले नामसामी औलतिर गएको समय केसामीलाई लेकतिर शिकारमा पठाउने गर्थिन ।
केसामीका दाँततिखा थिए, नङ्ग्रा लामा पलाए । जङ्गलमा शिकार मारेर खान सक्ने भए । नामसामीले पनि मलिबासको धनुकाँड बनाइ चलाउन सिके।एकदिन नाम्सामीले आमालाई भन्यो‘– आमा !दाजु केसामीले मलाई खानु खोजिरहेको छ। म जुनबाटो जङगल जादैछु त्यहीबाटो बताइदिनुहोस है ।‘
सिमसारा अकमक्क परिन । आमाको उत्तर नपर्खि नामसामी औलतर्फ लाग्यो अनि फाक्तेपको एउटा ठूलो सिमलको रखमा चडेर सबैभन्दा माथिल्लो हाँगोमा बस्यो ।
केहीबेरमा केसामी घरमाआइपुग्यो अनि सधैजस्तो नाम्सामीलाई खान्छु भन्दै खोज्न लाग्यो । यसपल्ट भने सिमसाराले केसामीलाई ढाँटिन, नामसामी गएको दिशा हातले देखाइ दिइन ।केसामी उफ्रन्दै त्यतैतिर लाग्यो ।

 

मान्छेको गन्ध सुँध्दै केसामी ठूलो सिमलको रूखको फेदमा पुग्यो । रूखको माथि हाँगोमा नामसामी लुकेर बसेको देख्यो अनित्यो सिमलको रूखमा चड्न थाल्यो । नामसामीले केसामीलाई काँडले हान्यो । केसामी चलाक थियो, नामसामीले जतिखेप काँड हान्थ्यो त्यो सिमलको हाँगोमा आड लागेर जोगिहाल्थ्यो । काँडलाई छलेर केसामी नामसामीको नजिक पुग्यो ।नामसामीसँग एउटामात्रकाँड उब्रेको थियो । नामसामीलाई खान भनी केसामीले मुख खोलेर झम्टियो, त्यही मौकामा नामसामीले केसामीको मुखभित्र काँड हानि पठायो । काँडले केसामीको मुटु छेडयो र त्यो सिमलका हाँगोहरूमा बजारिन्दै तल भुइँमा झरयो । केसामी बजारिन्दासिमलका हाँगोहरू भाचिए । यसकारण सिमल रूखको एकपट्टीका हाँगो हुदैन भन्ने जन विश्वास गाउँ घरमा अझै छ ।
भुइँमा झरेको केसामी चटपटाएन । केसामीको नाख मुख आँखामा हरियो झिङ्गाहरू भन्किए । नामसामीलाई केसामी मरेको विश्वास भयो । तिनी सिमलको रूखदेखि ओर्लिए र घर गए ।
घरमा आमा सिमसाराले एउटा चिन्डोमा केसामीको नाममा अन्दङ फुङ (बाबारी फूल) र अर्को चिन्डोमा नामसामीको नाममा सेकमारी फुङ (सिल्लरी फूल)-को कलश बनाएकी थिइन । कलशमा अन्दङ फुङ ओइलाएको देखिन । केसामीको मृत्युभएको थाहा पाइन ।
आमा सिमसाराले नामसामीलाई अराइन- केसामी पनि मेरो कोखबाट जन्मिएको हुनाले तिमीले युमसा (नुन-मासु) खानुको लागि केसामीको छाला भोटमा लगेर नुन साटेर ल्याउनु ।

 

नामसामीले केसामीको छाला काडेर निभुखोलाका ढुङ्गामा सुकाउदा सुकेन । घोचा गाडेर त्यसमा छाला टागेर सुकाउदा पनि छाला नसुकेपछि माथि माफारा डाँडामा लगेर सुकाउदा बल्ल छाला सुक्यो । केसामीको छाला सुकेको माफारा डाँडालाई हिजोआज छालासुकुवा डाँडा भनिन्छ । त्यसपछि नामसामीले छाला भोटतिर लगेरनुन साटेर ल्याइवरीनुन र लुइचेको मासु (युमसा)आमासँग मागेर खाए ।हिजो- आजनामसामीको सन्तानहरूले पुरूषको मृत्यु भए चार दिनमा अनि स्त्रीको मृत्यु भए तीनदिनमा कुटुम्बसँग युमसा(नुन मासु) मागेर खाने गर्दछन ।
अविरल बगिरहेको छ निभुखोला । मास्तिर ठोकुवाको ठूलो ढुङ्गामा दुई वटा खोपिल्टो यथावत छ । माफारा डाँडामा केसामीको छाला सुकाउनलाई नामसामीले ढुङ्गामा खुटि गाडेको सात वटा टोड्काहरू छदैछन । तल फाक्तेपको सिमलको रूख चाहीँ वर्षौं अघिको पहिरोले लग्यो । नामसामीको सन्तानहरू पहाड,मधेस चारैतिर फैलिएका छन । तर उनीहरूका पूर्खाको धरोहर लिम्बुवान अन्तर्गत फाल्गुनन्द गाउँपालिकामा वर्षौ देखि अलपत्र छन् ।