आज: १० मंसिर २०७७, बुधबार | Wed, 25, Nov, 2020
FLASH NEWS

लिम्बू जातिमा धान नाच्दा गाइने पालाम्ः एक संक्षिप्त

कञ्चनजंघा अनलाईन ६ मंसिर २०७७, शनिबार १२:३८ मा प्रकाशित ( ३ दिन अघि) ८३ पाठक संख्या

✍️राम अप्रिय
लिम्बु जातिको मौलिक कला र साहित्यको अध्ययन गर्ने हो भने कम महत्वको छैन । उनीहरूको लवाई खवाई, रहनसहन, चालचलन सँगसँंगै लिम्बु वाङमयमा स्वीकार्न योग्य पालाम्,ख्याली,हाक्पारे जस्ता छन्दहरू पनि क्रमसः विकास हुँदै आएका छन् जसमध्ये पालामको एक संक्षिप्त जानकारी ।

पालाम् (पात्लम् )को शाब्दिक अर्थ “भन्ने बाटो” हुन्छ । यद्यपि यसले कतै–कतै लिम्बु साहित्यको परम्परागत इतिहास र जीवन्त संस्कृतिको महत्वलाई पनि बुझाएको छ र पाइन्छ । साधारणतया पालाम् भनेको लिम्बू जातिको गौरवमय सस्कृति धाननाच (या?लाङ )मा साधारण र संवेदनशील प्रतिस्पर्धामा तरुनी तन्नेरीले गाउने एउटा गीत हो । पालाममा विशेष त प्रेमभाव, माया पिरतीका तथा मुन्धुम (शास्त्रीय)व्यक्त गरिएका गीतहरू एक आपसमा सवाल जवाफको रूपमा गाइन्छ । पालामको उत्पति कहिले भयो भन्ने सम्बन्धमा तिथिमिति हालसम्म प्राप्त हुन सकेको छैन । यद्यपी कसरी उत्पति भयो भने सम्बधामा चाहिँ लिम्बू सस्कृति मै भए पनि भएको महत्वपूर्ण धाननाचसँग जोडिएको केहि आख्यानहरू यहाँ उठाउनु सान्दर्भिक होला ।

 

प्राचिनकालमा कृषि प्रविधिको राम्रो विकास नभएको अवस्थामा मानिसहरूले वनमा रहेको फलफुल र कन्दमुल खाएर जीवन गुजारा गर्दथे । यस्तो समस्या देखेर एकदिन एउटा ‘फेल्योरे फेम्पुना’नामक चरा आएर मानिसहरूलाई खेतीपाती गर्नु सिकाउने र बीउ दिन तयार भइन् र ताम्यारो या? घैयाको वीउ ल्याई दिएर मानिसहरूलाई कृषि व्यवसायमा उन्मुख गराइन र त्यसै समयमा उक्त चरा र मानिसले एउटा सन्धि पनि गरे । जहाँ फलेको, पाकेको अन्न बाली चराले खाँदा मानिसले ‘हा’ भनेर खेद्न नपाउने भयो । त्यसो हुँदा मानिसले परिश्रम गरेर उब्जाएको अन्न चाराचुरुंगीहरूले सकिदिने भएकोले अन्न भित्र्याउने बेलामा बाली काटेर खलामा थुपारेपछि मानिसहरूले हात समाएर “हा……हा……हा……” को लयबद्व आवाज निकालेर नाच्दै अन्न झार्ने तरिका अपनाए । यसरी प्रत्यक्ष र कोलाहल नभई मधुर संगीत ध्वनिको प्रवाहले चराहरू धानको खला छोडेर विस्तारै टाढा–टाढा उड्दै गए । मानिसले यसरी आफ्नो परिश्रमद्वारा उब्जाएको अन्न बचाउन बुद्दी र युक्तिपूर्ण प्रविधि अपनाउदै जादाँ धान नाचेको सुरुवात भएको हो भन्ने भनाइ छ ।

 

त्यस्तै लिम्बू जाति प्राचिनताको पराकास्टबाट विस्थापित हुन थालेपछी प्रारम्भमा ‘सोरोक्पा’नामक लिम्बू पितृले तरुण र तरुनिहरूलाई तीन कदमको नाचसहित कोडको पृथकतामा धान रोप्ने र पछि बाली उठाउदा दाँया र बाँया पाँच र स्वस्थानमा तीन कदम संचालन गरेर नाच्दै परालबाट अन्न झार्ने प्रविधि सिकाएका हुन् र यसैबाट धान नाचको सुरुवात भएको हो भन्ने किम्वदन्ती छ ।

यसरी नै अर्को किम्वदन्ती पनि छ आदिम युगमा मानिसहरूलाई खाद्यान्यको दृष्टिकोणले समुन्नत र सभ्य तुल्याउन ‘माकचेरे पु’ भंगेराको भूमिका महत्वपूर्ण थियो । वैराग्य र फिरन्ता जीवन उपभोग गरिरहेका मानिसहरूले ‘हा’ भनेर खेद्न नपाउने शर्तमा भंगेराले ‘ह कसी’ जौ को वीउ ल्याइदिए । पाखा भिताबारीहरूलई खनि खोस्री मानिसहरूले ‘ले प् या?’छर्ने अन्नको रूपमा छर पोख गरी उब्जाउन थाले । तर बाली काटेर थुपारेपछी समयमा भंगेरा हुलका हुल आएर खाइदिन्थे । त्यसर्थ, पाकेको अन्न सुरक्षित बचाउनका लागि काटेर खलामा थुपारेको अन्नमा मानिसहरूले हात समाएर ‘हा …….हा ……हा ……’ लयसहित नाचेर अन्न झार्ने परम्परा बनाए र यहि नै धान नाचेको उत्पतिको प्रारूप हो भनिएको छ ।

 

उपर्युक्त भनाइहरूको आधारबाट धाननाचको उत्पति रप्रारूप अन्न बाली काटेर नाँच्दै,माड्दै परम्पराबाट सुरुभएको हो भन्ने तथ्य प्रष्ट हुनुका साथै पालाम् पनि यहि धाननाच सँगसँगै विस्तारै सुरु भएको हो भनि अड्कल गर्न सकिन्छ ।त्यसैले पनि धाननाच र पालाम् साम्लो विच घनिष्ट सम्बन्ध रहेको छ, अर्थात् पालामको उत्पतिमा धाननाचले महत्वपूर्ण भूमिका खेलेको छ भन्न सकिन्छ ।

१. पालामको प्रयोग, विषय र शक्ति
पालाम् विशेष लिम्बू संस्कृतिको महत्वपूर्ण धाननाचमा बाहेक अन्य क्षेत्रमा त्यति प्रयोग भएको पाइदैन । पहिले(पहिलेका लिम्बू पुर्खाहरूले पालामलाई काम गरेर थकित भएपछि एक ठाउँमा भेला भएर रमाइलोको लागि धान नाच्दा प्रयोग गरेको विभिन्न लेखहरूमा पाइन्छन, तर आजभोलि भने केहि परिवर्तन भएर विवाह, भोज जस्ता माङ्गलिक तथा सांस्कृतिक कार्यक्रमहरूमा मात्र नयाँनौलो ठाउँबाट आएका पाहुनाहरूसँग चिनजान गरेर धान नाच्दा गाउने गरिएको पाइन्छ । धाननाच युवायुवतीहरूवीच मात्र सीमित नरहेर अवसर विशेषमा प्रौढ–प्रोढा, वृद्ध–वृद्दा (शक्त) वीच पनि उतीकै उत्साहपूर्ण ढंगले नाचिने सस्कृतिको धरोहर हुनाले लिम्बू जातिमा सम्बन्ध लाग्ने पात्रहरूवीच नाच्न निषेध भएको र नाचका क्रममा आपसमा कुल्चियो भने तांतबाट बाहिर निक्लेर ढोगभेट गर्नुपर्ने नियम समेत भएकोले गायन क्रममा मनस्थितिलाई एकाग्र साथ सतर्कता राख्ने गर्छन् । यसरी पालामको प्रारम्भमा सम्बन्धको छिनोफानो भएपछि मात्र धान नाच्नु हुने भए आपसमा हात समातेर नाचिन्छ ।त्यसपछि पालामको वास्तविक चरण प्रारम्भ हुन्छ । माया पिरतीका सन्दर्भमै नाच्नेहरू लालायित छन् भने पालामले त्यहि विषयवस्तुलाई समातेर लान्छन र उक्त सन्दर्भ उठेर जान्छ । यहि चरणबाट प्रारम्भ भएका पालामहरूले नै अन्ततोगोत्व बौद्दिक प्रतिस्पर्धादेखि लिएर यौवनको उत्कर्ष अस्मितामा नृत्यकार जोडीहरूलाई पुर्याउछ । वास्तवमै प्रतिस्पर्धात्मक पालामको सुरुवात भयो भने धान नाच्नेहरू सवाल र जवाफको माखेसाङलोमा हप्तौ अल्झन सक्छन र भोक,निद्रा त्यागेर बाजी जित्ने प्रयत्नमा युगल पक्ष उत्तिकै गम्भीरताका साथ लागि परेका हुन्छन् ।त्यसैले पालाममा माया प्रेम र आपसी आकर्षण भावका विषयवस्तु समेटिएका गीतहरू हुनुका साथै शास्त्रीय मुन्धुम,आख्यान र परम्परागत किम्वदन्तीहरूलाई पनि समेटिएर गाइएको पाइन्छ । यसरी प्रेमलापमा होस् या मुन्धुममा अचानक उठेका सवालहरू समाधान हुन नसकी प्रतिस्पर्धी वा गुरु चेलाका रूपमा पात्रहरू परीणत भइ माग बमोजिमको आख्यानमुलक दक्षिणा बुझाउन नसकेमा ‘फुङवा लेम्मा’ हुन्छ र पराजित पक्ष विरामी हुने वा मर्ने अवस्थामा पुग्छ । तसर्थ,पालामको प्रतिस्पर्धामा जान्नेले नजान्नेलाई गायनसँगै गीतबाट नै फुङमा र फुङचा चाङमासहित यो चो?लुङमा सकुसल उतारेर फर्काउनु पर्छ । तसर्थ, के भन्न सकिन्छ भने प्रेमलापका कुरा होस् या शास्त्रीय मुन्धमुको कुरा होस् पालाम् गईरहेको अवस्थामा अत्यन्तै सतर्कता अपनाउनु पर्छ ।

२. पालामको संरचना
नेपाली साहित्य विधाका कबिताहरूलई जसरी छन्दमा बाँधेर लेख्ने गरिन्छ त्यसरी नै पालामलाई पनि एउटा निश्चित छन्द (पेन्यूक)मा बाँधेर लेख्ने गरिन्छ । पालामको पनि अरु विधाको जस्तै छुट्टै संरचना छ । पालाम्( तीन: दुई: चार गरी जम्मा नौ अक्षरको प्रत्येक ( पाउ ) हरफ रहेको हुन्छ । पालामलाई जतिसुकै ( पाउ ) हरफमा पनि लेख्न सकिन्छ, यो त सर्जकमा भर पर्ने कुरा हो । त्यस्तै पालाममा पहिलो (पाउ )हरफलाई ‘फेक्वा’ भनिन्छ भने दोस्रो ( पाउ ) हरफलाई ‘काफेक्वा’ भनिन्छ । यसरी पहिलो र दोस्रो पाउ अर्थात् फेक्वा र काफेक्वा मिलेर ‘काप्फुङफेक्वा’ बन्दछ । त्यस्तै प्रत्येक ‘फेक्वा’को अन्तमा जोडिने अन्तरालाई ‘फुङफेक्वा’ भनिन्छ । (उपर्युक्त प्रयोग भएका शब्दहरू ‘फेक्वा’, ‘काफेक्वा’, ‘काप्फुङफेक्वा’ र ‘फुङफेक्वा’ का चितबुझ्दो अर्थहरू अहिलेसम्म पनि भेटिएका छैनन् । )
उपर्युक्त कुरा ( शब्द )हरूलाई प्रष्ट पार्नको लागि एउटा उदाहरण
पहिलो पाउ र हरफ (फेक्वा ) – शिलाजी बस्यो भीरैमाथि
शब्द संख्याः ३,  २,  ४
दोस्रो पाउ र हरफ ( काफेक्वा ) – राख्नेछु माया शिरैमाथि
शब्द संख्याः  ३ , २ , ४
पालाम् धान नाच्ने जोडीहरूको सम्बन्ध निर्क्योलका गीतात्मक छन्ददेखि लिएर अलंकार (फुङफेक्वा) लागेका मुन्धुम उपलंकारले (काप्फुङफेक्वा) अनुप्रासमा जोडेको आख्यान वा अन्य प्रेमलापका पात्रहरूबाट नै स्वरचित छंदोबद्द श्लोकहरूले युक्त हुन्छ । यसलाई गाउँदा पालो अनुसार मूल भागेदारीले पहिले गाउँछ र पुनः त्यसलाई नाचका समुह वा सहभागीहरूले समेत दोहोर्याउछ र श्लोक वा गीतको प्रति टुंग्याउनीपछि ‘हा ……हा……हा……’ वा छैया हा….. हा…. भन्ने चलन छ । मुख्यतः धान नाच (या?लाङ ) को उत्पतिको केहि अन्तरालपछि मात्र अलंकार सहितका मुन्धुम आख्यान र स्वरचित गीति पालामहरू सुरु भएकोले सोरोक्पाद्वारा निर्दे्शित धान या अन्न माड्ने नृत्यमा पनि फुङफेक्वा जस्तै ‘हा….. हा….हा …..आवाज प्रयुक्त रहेकोले अहिले पनि पालाम श्लोकको टुङग्याउनीमा रही आएकै छ ।