आज: १० श्रावण २०७८, आईतवार | Sun, 25, Jul, 2021
FLASH NEWS

संवत १८३१ सालको लालमोहर निशान र तांबापत्र बाचाको तसली मुलुकी मोहरको खोजी गर्दा

कञ्चनजंघा अनलाईन १३ बैशाख २०७८, सोमबार ०७:५७ मा प्रकाशित ( ३ महिना अघि) १६२८ पाठक संख्या

विरही काइँला
यो बि.स.२०२३ सालतिरको कुरा हो । मामा रत्नकुमार थाम्सुहाङ र मेरो स्कुल एउटै भएकोले वार्षिक परिक्षा सकिन साथ हामी दुई  दार्जीलिङबाट याङनाम तर्फ हिँड्यौं ।

त्यसबेला सम्म गाउँमा गाडी गुड्ने सडक खन्न थालिएको थिएन । दार्जीलिङबाट हिडेर रत्नकुमार थाम्सुहाङको घर याङनाम गाउँ पुगियो । मेरो गन्तव्य भने याङनाम भएर पौवा पुग्नु थियो । मामा थाम्सुहाङको आग्रहमा दुई दिन याङनाम बसाइको समय याङनाम गाउँको पल्लो पाटो हाङग्राबाङका नन्दकुमार सुब्बाको घरमा पनि पुगेको सम्झना अझ सम्म छदैछ ।

त्यसदिन नन्दकुमार सुब्बाको घरमा पुग्दा उनी थिएनन् । गाउँतिर गएका रहेछन । नभेटिकन नफर्किने मनसाय लिएर सुब्बाको घरका आँगनको डिलमा बसेर तीन घण्टा जति कुरेपछि बल्ल एक जना वृध्द सुब्बा आइपुगे । आँगनमा एक अपरिचित मनुवालाई देखेर को हो चिन्न सकिएन त ? भन्दै उनी मेरो अघिल्तिर उभिए । मैले आफ्नो परिचयसँगै यहाँ आउनुको अभिप्राय बताएँ । त्यसपछि मलाई सिकुवामा लगेर बसाए र उनी घरभित्र पसे ।

 

नन्दकुमार सुब्बाको नाम सारताप गाउँका सुब्बा पृथलाल नेम्बाङको मुखबाट सुनेको थिएँ । सुब्बा पृथलाल नेम्बाङले संवत १८३१ सालको लालमोहरको नकल कपि मलाई दिँदा यसको सकल कपि याङनामका नन्दकुमार सुब्बासँग छ भनेका थिए ।

म उनै नन्दकुमार सुब्बाको घरको सिकुवामा बसेको छु । थाहा छैन  मलाई सिकुवामा बसाउने सुब्बा नन्दकुमार सुब्बा हुन वा अरू कोही हुन । केही समयपछि सुब्बाले एउटा बेरूवा कागज लिएर आए अनि मेरो हातमा थमाई दिँदै भने-‘ लालमोहर यही हो ।’

लालमोहरलाई अङ्ग्रेजीमा 11 GR लेखिएको पेपरले एकापट्टी लेमुनेसन गरिएको रहेछ । नेपाली कागजमा लेखिएको यो लालमोहर अन्य लालमोहर भन्दा लामो र चौडादार हुनुको साथै माथिल्लो भागमा लगाइएको गोलो रातो छाप पनि अलिक ठूलो रहेछ । रातो छापको ठिक मुन्तिर श्री छ । त्यसपछि लेखिएको छ —

स्वस्ति श्री गिरिजचक्रचूडामणि नरनारायणेत्यादि विविध विरूदावली विराजमान मन्नोनत श्रीमन महाराजधिराज श्री श्री श्री महाराजे पृथ्वीनारायण शाह बहादुर शमशेर जंग देवानाम सदा समरविजयिनाम –

स्वति श्री आगे राजभारासामर्थ श्री शुन राय, श्री कुम राय, श्री जंग राय अरू सबै ग्रैह लिम्बु रायकै पूर्ण मोहर पत्रम् यथोचित.

उप्रान्त मिल मिलन्तम. यहाँको लागि तहाँलाई कुल चाहियो. मेरो धर्म मन भलो छ. तिमीहरू हिजु पनि पिछा बक्सेका हौं. तिम्रा मुलुक हाम्रा प्रतापले तिमी तुत्तु तुम्याङयाकहांग सन्तान हारयौ र आज त्यो मुलुक हाम्रो भये तापनि तिमीहरू हाम्रै छौ. तिम्रा जहानको पिछा हामीले लियौं. जजसको जे जे तिम्रा खाइन पाइन र लुङवाङगढ सिङवाङगढ अशुद्धलाई सब खतवात सभा शुद्ध गरी खानामा हिजुको तिम्रा मुलुकभित्रको सबै थामि बक्स्यौं.

तिमीहरू हाम्रा भारादारसंग शामेल रहौ र मदत सघाई हिजु आपै आप आपुंगी बसी आए बमोजिम त्यो मुलुक सम्भार गरी जिमी भूमि रहिञ्ज्याल तिम्रा शाखा सन्तान तक भोग्ये गर.

अरू नौ लाष र एक पटि तिमीहरू हौना. के अर्थले हो भने अरू राजा मासिने हुदा तिमीहरू राजा नै नमासिने हौ. यो तिमीहरूको नीति हामीले जानेको छ. तर कुराको विस्तार नाभिमा बसेकोले तिनले गरयो. सुखिमको र हाम्रो घा नभएको हो. हाम्रो भलो मानिस र चौधरीले बोल कुरा गरी गेरी गयको छ। उनैबाट कुराको विस्तार बुझौला. मिली तिमीहरूको आप आपुंगी खाइन पाइन माथि लेखे बमोजिम जिमी भूमि जानी चलनगरी खानू.हामीले खोसे मासे मानी पूजी ल्याएकोदेवताले हाम्रो राजकाज भंग नासोस भन्या तांबापत्र बाचाको तसली मुलुकी लालमोहर बाँधी माथि लेखिने लिम्बु कुल भाईलाई दियुँ.  इति संवत १८३१ साल मिति श्रावण  सुदि २२ रोज २ बार मुकाम कान्तिपुर राजधानी शुभाया शुभम.

लालमोहरमा स्वस्ति र उप्रान्त.. लेखिएको देब्रेतर्फ दुई वटा औठी छाप मोहर छ । यी मोहर अभिमानसिंह बस्नेत र पार्थ भण्डारीको हुनपर्छ ।

लालमोहरमा लेखिएका कतिपय मेटिन लागेका अक्षरहरू पुनः लेख्ने काम गरिएको छ । यसरी मसी थपेका लेखन स्पस्टसँग छुटिन्छ । शुदि बारमा समेत मसी थपिएको छ । मसी थप्दा शुदि १२ वा २१ कतै शुदि २२ बनिन गएको त होइन ? रोज २ बार लिप्यन्तर त भएन ? आदि अध्ययन गर्नु आवस्यक छ । लालमोहरमा थपिएको मसी र नागको चित्रमा प्रयोग गरिएको मसी राम्ररी  ठिम्याउँदा जसले लालमोहरमा मसी थपेर लेख्नेकाम गरे उसले नै दुईतिर नागको नक्सा बनाइ दिएको जस्तो लाग्छ ।

 

लालमोहरमा मसी थपिएको बारेमा  सुब्बालाई सोध्दा  मेटिन लागेका अक्षरहरूमा मसी थपिएको कुरा उनले मसित गरेका थिए ।

लालमोहरको नकल सारदै थिए । सुब्बाका श्रीमतीले डबकोमा छनुवा जाँड सुब्बा र मेरो अघिल्तिर राखि दिइन । मैले छनुवा जाँडको डबकोलाई अलिक परतिर सारेर जाँड खादिन भने । मेरो कुरा सुनेर मेरो भागको जाँड पनि आफ्ना श्रीमानलाई थपिदिन पर्खेर बसेकी श्रीमतीले  सुब्बालाई सोधिन – ‘कन मनाइन याक्थुङबा मेःन बी ? यी मानिस लिम्बु होइन क्या हो ?’

सुब्बाको जवाफ थियो-‘याक्थुङबा बे !’  लिम्बु नै हो !’

दुवैजनाको कुरा सुनेपछि लिम्बुमा नै भने -‘ नेम्बाङ थरको लिम्बु भएपनि सानैदेखि जाँड रक्सी चाहिँ खाइएन ।’

त्यसपछि हामी तिनैजनाले लिम्बुमा बातचित गरयौं । लालमोहर सारने  कार्य सकिएपछि सकल कपि सुब्बालाई जिम्मा लगाएर म हाङराबाङ गाउँको गोरेटो बाटो उकालो लागें ।

गोरखा राजा पृथ्वीनारायण शाहद्वारा दिइएको संवत १८३१ सालको लालमोहरमा पान्थरका तीन जना लिम्बुहरू  शुन राय, कुम राय र जंग रायको नाम उल्लेख छ ।

 

लालमोहरको साथमा निशान र तांबापत्र बाचाको तसली मुलुकी मोहर पनि  गोरखा राजाले दिएको रहेछ । शुन रायका सन्तान पान्थरको चुङजिवा गाउँका आगेसुब्बाकोमा निशान छ भन्ने कुरा पौवा सारताप गाउँका आगेसुब्बा प्रेमबहादुर नेम्बाङको मुखबाट सुनेपछि  उनैसँग  चुङजिवा पुग्यौं । चुङजिवाका आगेसुब्बाको सानो घरभित्र ढुङ्गा माटोको कोठा बनाएर एक कुनामा निशानलाई लुगाहरूले बेरेर  राखिएको रहेछ । वर्षमा एक पटक त्यो पनि दसैँमा मारकोदिन मात्र निशानलाई भोग दिन बाहिर निकालिने चलन रहेछ । आगेसुब्बाको निशान माथिको आस्था देखेर हामी निशान नहेरि चुङजिवाबाट फर्क्यौ ।

 

नेम्बाङ वंशावली संकलन गर्ने क्रममा पान्थर चिलिङदेनको हक्तुवा पात्ले निवासी रैनबहादुर नेम्बाङको घरमा पुगेको थिएँ । चौबिस थुमदेखि पान्थर थुम आएका रैनबहादुर नेम्बाङको जानकारी अनुसार तिनका छिमेकी खोलाघरे नेम्बाङहरूमा सुब्बा भएर पनि मौलो नगाडिकन मार काट्ने परम्परा रहेछ । यसबारेमा सोधखोज गर्दा के कुरा थाहा पाइयो भने खोलाघरे नेम्बाङका पुर्खा कुम रायले आफ्ना जेठान चेमजोंग शुन राय र मित्र थेगिम जंग रायसँग  गोरखामा सामेल भइ संवत १८३१ सालमा थापेका लालामोहर मध्ये निशान शुन रायले  लालमोहर  जंग रायले अनि तांबापत्र बाचाको तसली मुलुकी मोहर आफुले राखेका रहेछन । पछिबाट कुम रायको दाजुहरूले भाइ गोरखातर्फ लागेको थाहा पाई -‘गोरखाली तर्फ लाग्यौ भाई भनेर माफ गरयौं तर गोरखा राजाले दिएको निशान पुजिस भने तेरो नातसंतान नास होस ।’ भनी श्रापेका हुनाले कुम रायले निशानलाई पुजेन रहेछ ।

 

राजेन्द्र वीक्रम शाहको पालामा संवत १९०० साल वैशाख वदि १रोजको जाँचपछि कुम रायका सन्तान सुब्बा कर्णामुखी. कर्ता चन्द्रमान.कारोबारी मनकर्णा.राइ वाजरूप. राइ नकत.पगरी पृथ्वीसिंले …”अघि भयाका लालमोहर सवै षारीज गरि कम्पू पलटन कम्पनीका लालढड्डा वाहेक तिमीहरूका जमिनकाथिति वितिरिति सुवांगी थामि ठेकको वन्देज वाँधि वक्स्यौ ।” भन्ने लालमोहर पाएपछि मात्र कुम रायका सन्तानहरूले मौलो गाड्न थालेका रहेछन । तर जसले संवत १८३१सालको तांबापत्र बाचाको मोहर राख्छ उसले चाहिँ मौलो गाड्दैन रहेछ ।

संवत १८३१ सालमा गोरखा राजा पृथ्वीनारायण शाहले शुन राय, कुम राय र जंग राय मार्फत लिम्बुहरूलाई लालमोहर दिँदा  उनका वफादार अभिमानसिंह बस्नेतले लिम्बुहरूको सामु तांबापत्र बाचाको तसली मुलुकी मोहरलाई दाँतले टोकेर  –‘ लालमोहरमा गरिएको बाचालाई अक्षरत पालना गरिने छ ।’ भनी कसम खाएका थिए ।

यो तांबापत्र बाचाको तसली मुलुकी मोहर कुम रायका वंशसँग आजसम्म सुरक्षित छ ।

 

गोरखा राजा पृथ्वीनारायण शाहका सेनाहरूले तमोर नदी तरेका थिएन । तर कुनै पनि समय गोरखाली सेनाको आक्रमण हुन्छ भन्ने आशंकाको कालो बादल तमोर पश्चिमका प्रदेशहरूमा छाइ सकेको थियो ।  गोरखालीहरूको यस कदमलाई रोक्नका लागि पहिले नेम्बाङ, पापो र थेगिम तीन थरिका आपुङगी लिम्बुहरू एकभइ फेदेनको रातोमाटे डाँडोमा तीन वटा रातो ढुङ्गा गाडेर तीन मुटु (सुम्जिरी सुमहेतलुङमा) मिलाए, त्यसपछि नेम्बाङले चेम्जोंग र पापोले सोङबाङफेलाई ल्याएर आजदेखि हामी पान्थरका आपुङ्गीहरू एक भयौं भनेर पाँच वटा आँपको बोट रोपेका थिए । जसलाई झुरूप्प आँप(अम्बेपज?) भनिन्छ । तर यी आँपका बोटहरूले राम्ररी पाउलो फेर्न नपाइ आपुगी लिम्बुहरूले एक्तालाई तोडि हाले । तिनीहरूको एक्ता भङ्ग हुनुको मुख्य कारण संवत १८३१ सालको लालमोहर थियो । लालमोहरमा  ‘अरू नौ लाष र एक पटि तिमीहरू हौना के अर्थ हो भने अरू राजा मासिने हुदा तिमीहरू राजा नमासिने हौ ।’ भनिएकोले ‘हामी भनेका नमासिने राजा हौं’ भन्दै लालमोहर पाएका आपुङ्गी लिम्बुहरू गोरखालीहरसँग मिल्न पुगेपछि अम्बेपज?लाई ध्वस्त पार्न गोरखालीहरूले पत्थरकला बन्दुक पट्काउनु परेन ।

 

पान्थरको याङनाम गैरी गाउँको जोसमनी पन्थका थेगिम(साधु)-बाट प्राप्त भएको हस्तलिखित ‘थेगिमहरूको वंशावली’ले यही कुरा अर्थ्याउछ । च्वानरी भनिने जंग राय गोरखातर्फ लागेर हस्तपुरमा लड्दै थिए । सुखिमे सेनाले हानेको विषालु काँड आँखामा लागेर च्वानरी मारिएको कुरा उक्त वंशावलीमा उल्लेख छ । त्यसै वंशावली अनुसार जंग राय उर्फ च्वानरीको आँखा फुटेको ठाउँलाई हिजोआज मिकआप्पा डाँडो भनिन थालिएको हो ।

 

त्यसबेला पृथ्वीनारायण शाहले  आफ्नो राज्यको सिमाना पहाडमा साभा खोला तमोर नदी र मधेशमा कन्काई नदी सम्म विस्तार गरिसकेको कुरा आफना एकजना गुरू श्री भगवन्त नाथलाई १८३१साल भाद्र ६ मा लेखेको पत्रको अंशबाट थाहा हुन्छ….’उप्रान्त किरातका काजलाई बारबार हुकुम बक्सी पठाया गयेथ्यो । किरातको अम्वल मदेश पहाड भोट जतिथियो आफ्ना आशिर्वादले सबै फत्य भयो । मदेश महां कन्काई नदी पहाडमा साभा खोला तमोर नदी सांध लाग्यो ।’ ( बाबुराम आचार्य, श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी पृष्ठ ६२३,२०२५)

नवावी मुद्रा चलाउने पान्थरका आपुङगी लिम्बुहरूलाई बंगालका नवाब र सुखिमपतिको मद्त रोक्न गोरखालीहरूले त्यतातिर आफ्ना मानिसहरू पठाइ सकेका थिए ।

 

कुम रायका दाजुहरू गोरखालीहरूको विरूद्धमा लड्दै थिए । त्यसताक नेम्बाङहरू मर्नु र मार्नमा उत्रिएका थिए भन्ने कुरा उनीहरूलाई माफिदिदै गोरखामा सामेल हुन आह्वान गरिएको संवत १८३७ साल वैसाख वदी ३ को रणबहादुर शाहको लालमोहरबाट  थाहा पाइन्छ –

स्वस्ति श्री गिरिराजचक्रचुडामणि नरनारायणेत्यादि विविध विरूदावली विराजमान मन्नोनत श्रीमन महाराजधिराज श्री श्री श्री महाराजे रणबहादुर शमशेर जंगदेवानाम सदा समरविजयिनाम-

 

स्वस्ति श्री सर्वोपमा जोग्येत्यादि श्री नेमांग राय के आसिष पुर्वक पत्र मिदम. ञाहा कुसल ताहा कुसल चाहिये आगे ञाहाको समचार भलोछ. उप्रान्त तिमिभन्याका मकवानि सेनकाघरका भंला सेवकहौ.जाहा सम्म मकवानिका नुनषायाको थियो.तबसम्म धनजियेल मर्नु मार्नु पनि गरयो. सेवको गर्नु ताहिसम्म हो. मकवानी राजगैगया.त्यो देसपनि हाम्रो अम्बल भयो.जुंदेस जसराजको हुदा उसदेसका सेवक उस राजकना मान्या धर्म पनि हो. सोहिजानि जिया धनको षातिर ज्यापाया अ..भंनाको कुरो बिंति गरि पठाया छौ. तस्कुराकना हिजोको गर्नु नगर्नु गरया षुनजिया धनजियाको पिछा माफ गरिबक्स्यौं खातिर जम्मासित आफ्ना भाईभैयादत..सुवा राय लिइकन आव पिछा लिञ्युं संवत १८३७ साल वैसाख वदि ३ रोज शुभाया शुभम कान्तिपुर श्रभ्म. षोलाठाडा गोलागंज थामि बक्स्यौं इति.